रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले उद्धार, उपचार र राहत वितरणको कार्यलाई तीव्र बनाएको छ।

“रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकोप्टरद्वारा भदौ ११ गतेको बिहानदेखि हालसम्म टिमुरे, स्याफ्रुबेशी, धुन्चे तथा मैलुङ इलाकाबाट ५० विदेशीसहित ६०२ जनाको हवाई र २०० जनाको जमिनी उद्धार गरिएको छ,” नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

घाइतेहरूको उपचारका लागि वीरेन्द्र अस्पतालबाट डाक्टर अधिकृतसहितको मेडिकल टोली परिचालन गरिएको छ। उक्त टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म ३३८ जना घाइतेलाई उपचार सेवा प्रदान गरेको जनाएको छ।

“खोज तथा उद्धारलाई सहजता प्रदान गर्न ड्रोन र सैनिक डगको समेत प्रयोग गरी चार हजार २०० भन्दा बढी नेपाली सेनाको फौजले समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा राहत सामग्री वितरण कार्य गरीरहेको छ,” सेनाले जनाएको छ। 

सेनाका अनुसार ४ हजार २ सयभन्दा बढी सैनिक विभिन्न निकायसँग समन्वय गरी घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरणमा खटिएका छन्।

यससँगै, बाढीका कारण प्रभावित धादिङस्थित पृथ्वी राजमार्गमा जमेको लेदो पन्छाई सडक सञ्चालनमा ल्याउने कार्यमा पनि नेपाली सेना परिचालित रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *