काठमाडौँ — सत्तारूढ गठबन्धनले सरकार सञ्चालनका लागि बनाएका न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनमा आबद्ध रहेका दलका शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।
नयाँ समीकरण बनेपछि गठित सरकारले जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको संकल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ । सत्तारूढ गठबन्धनमा नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी समावेश छन् ।
सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रमहरु सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन गर्ने, १५औँ आवधिक योजनाको वस्तुनिष्ट मूल्यांकन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लगायतका लक्ष्य सहितको संकल्प सार्वजनिक भएको हो ।
