काठमाडौँ । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपाली नागरिकको शव पहिचान गर्ने उद्देश्यले तिनका परिवारजनको डीएनए नमुना सङ्कलन गराइदिन रुसले आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिहरुको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा युक्रेनमा युद्धबन्दी बन्न पुगेका तथा बेपत्ता भएका नेपालीका परिवारका सदस्यको पनि डीएनए नमुना उपलब्ध गराइदिन रुसले अनुरोध गरेको हो । विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र आज एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ ।
जसमा खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डिएनए’ परीक्षणका लागि पठाएको हो । नेपाल प्रहरीबाट डिएनएको रिपोर्ट आएलगत्तै उक्त विवरण मस्को पठाइने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए ।
रुसी विदेश मन्त्रालयको अनुरोधमा मस्कोस्थित नेपाली दूतावासले गरेको आग्रहअनुसार नमुना दिन केही प्रभावित परिवारका सदस्य काठमाडौँ आइसकेको विभागले बताएको छ ।रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।
विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकिन गरिपाउँ भनेर आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले यसअघि पटक-पटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १७ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ ।
काठमाडौँ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ ।
