पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवलदारको मृत्यु भएको छ । गएराति चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको हो । 

मोरङको ग्रामथान गाउँपालिका ४ घर भइ हाल इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भएकोमा तँहाबाट प्रहरी चौकी गोपेटारमा खटिएर कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

राति ११:२० बजे प्रहरी चौकीको ढोकामा उभिएको अवस्थामै माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट जानकारी प्राप्त भएको हो । माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए । 

“प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए”, कुशवाहाले भने । उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो ।मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।