काठमाडौँ । दैलेख प्रहरीले त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ परेका महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय किशोर प्रेम न्यौपानेलाई प्रहरीको जिम्मा लगाएकाे केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिनुभयो ।
एसईई परीक्षाको पहिलो दिन गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको सट्टामा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए । उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । पक्राउ पर्ने न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा अध्ययनरत कक्षा १२ का विद्यार्थी हुन् ।
मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ । मुलुकी अपराध सहिंता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने, दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।
