काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बाग्मती प्रदेश सरकार अल्पमतमा परिरहेको समयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन एवं कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै सत्ता गठबन्धनमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए सगैँ हाम्रो नेपाली पार्टीको समेत नयाँ समीकरणमा प्रवेश भएको छ । 

बज्राचार्यले बिहीबार साँझ बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि मन्त्री बन्न अस्वीकार गरेका बज्राचार्य पाँच बुँदे सहमतिपछि सरकारमा सहभागी भएका हुन् । हाम्रो नेपाली पार्टीले ३ दिन अघिमात्रै वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रदेश प्रमुखको कार्यालयका अनुसार जम्कट्टेलले  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका छन् । 

गंगा नारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डा। राजेन्द्रमान श्रेष्ठलाई  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र शैलेन्द्र मान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

b11