काठमाडौँ । उपनिर्वाचनका लागि आज बुधबारदेखि इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१(१) उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरको हो । आचारसंहिता आजदेखि चुनाव सम्पन्न नभएसम्म लागू हुनेछ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको जनाएका छन् ।
बुधबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक राखेर आचारसंहिता पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई आयोगले निर्देशन दिएको छ । आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय समेत गरेको छ ।
यस्तै आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको छ । मतदान हुने दिन १५ गते शनिवार पर्छ । उपचुनाव अन्र्तगत इलाम–२ मा १९ जना तथा बझाङ–१ (क) मा ११ जनाको उम्मेदवारी कायम भएको छ । आयोगले हिजो अन्तिम नामावली सार्वजनिक गरेको हो ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपचुनाव हुन लागेको हो ।
