काठमाडाैँ । नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । घिमिरे ३९ मतकासाथ विजयी भएकी हुन् ।

आज बुधवार राष्ट्रिय सभामा भएको चुनावमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा बहुमत भएकाले उहाँ निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएको हो ।

घिमिरेलाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारूढ दलहरूले साथ दिएका हुन् ।

उनले १६ मत ल्याएकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी हुन् । बैठकमा ५५ जना सांसदको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको सफलताको कामनासमेत गर्नुभयो ।

चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएकाे थियाे । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रवार बस्नेछ ।