काठमाडौँ । कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार विशेष अधिवेशन आव्हान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरिएको हो ।
मुख्यमन्त्री केदार कार्कीले भने गत चैत्र २६ गते प्रदेश प्रमुख समक्ष जेठ ११ गते प्रदेश सभा अधिवेशन बोलाउन सिफारिस गरेका थिए।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेका थिए। प्रदेश सभाको एक चौथाइभन्दा बढी सदस्यले विशेष अधिवेशन माग गर्दै समावेदन गरेकोले सरकारले गरेको सिफारिसभन्दा अघि नै दर्ता भएको समावेदनअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्।

