चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु भएको छ। शनिबार बिहान करिब १२ बजे गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन क्रममा गैँडाले आक्रमण गरेको हो ।
घाइते रेग्मीको चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १:३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेका थिए । उनले सौराहाको जङ्गल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनीसँग निकुञ्ज घुम्न गएका अन्य पर्यटक सकुशल रहेको छन् । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।
अहिले मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
