काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएका छन् । दीपेन्द्रले ओमानमा भइरहेको एसीसी प्रिमियर कप अन्तर्गतको समूहचरणको क्रिकेटमा कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै अन्तिम ओभरको ६ बलमा लगातार ६ छक्का प्रहार गरेका हुन् ।

दिपेन्द्रले कतारका बलर कमरान खानको अन्तिम ओभरको सबै बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं खेलाडी हुन् । यसअघि दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ को २० –२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए । त्यस्तै वेष्ट इन्डिजका किइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले पनि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

टस जितेर ब्याटिङ गरेको नेपालले यस खेलमा कतारलाई निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १० रनको लक्ष्य दिएको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।