म्यानमारकी नेतृ आङ सान सुकीलाई सेनाको सरकारले जेलबाट सरकारी निवासमा सारेको छ । गर्मी बढेका कारण सुकीलाई जेलबाट छाडिएको हो । जहाँ मंगलबार साँझको तापक्रम ३९ डिग्री सम्म पुगेको थियो । यद्यपि उनलाई नजरबन्दमा राखिएको छ। नेसनल लिग फर डेमोक्रेसी पार्टीका एक अधिकारीले भने, “आङ सान सुकीलाई सोमबार राति उच्चस्तरीय स्थल परिसरमा सारिएको छ।”
२०२१ को सैन्य विद्रोहपछि सुकीलाई सत्ताबाट हटाएर विभिन्न आरोपमा जेलमा राखिएको छ । ७८ वर्षीया सुकी विभिन्न मुद्दामा २७ वर्षको जेल सजाय काटिरहेकी थिइन्। जेलमा रहँदा उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको र गत वर्ष सेप्टेम्बरमा उनको रक्तचाप, खानाको रूचि नहुने, झमझम हुने लगायतका स्वास्थ्यका समस्या देखिएको थियो ।
म्यानमारको परम्परागत नयाँ वर्षको अवसरमा ३ हजार बढी कैदीहरूलाई माफी समेत दिइएको समाचार संस्था एपीले जनाएको छ । सुकीसँगै ७२ वर्षीय पूर्वराष्ट्रपति विन मिन्टलाई पनि जेलबाट सारिएको थियो । पूर्वराष्ट्रपति मिन्टले भने ८ वर्षको जेल सजाय काटिरहेका थिए।
सुकीका समर्थकहरूले उनीमाथि झुटा आरोप लगाएर जेलमा राखेको दाबी गर्दै आएका छन्। सेनाले भने सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले सन् २०२० को आम निर्वाचनमा जित्न धाँधली गरेको आरोप लगाएको छ।
