काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले खराब प्रदर्शन गरेको छ । नेपाललाई चार विकेटले पराजित गर्दै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।
नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलब तीन ओभरमा छ विकेट गुमाएर भेटायो । हङकङका लागि अन्सुमन राथले नटआउट रहँदै सर्वाधिक ६५ रन बनाए । बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।
यसअघि ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४ चौका र ३ छक्का सहित अविजित ४४ रन बनाए । यस्तै सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुल्सन झाले छ, आशिफ शेखले पाँच, करण केसीले तीन र ललित राजवंशीले दुई रन बनाए । हिजो यूएईसँगको खेलमा पहिलो बलमै आउट भएका कुशल भुर्तेल आज पनि एक रन पनि नजोडी आउट भए । हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।।
एशिया कपका लागि छनोट नभएको नेपालले आजको हारसँगै इमर्जिङ टिम्स एसिया कप पनि पनि गुमाएको छ । पहिलो, दोस्रो र तेस्रो हुने टोली मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले हङकङ छनोट भएको हो ।
