काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गर्दै सानदार जित निकालेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो । आइपिएल इतिहासको चौथो ठूलो योगफल खडा गर्ने क्रममा पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको थियो । ओपनर ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक सुरुवातले हैदरावादलाई बलियो स्थितिमा पुर्याएको थियो ।

हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए । यस्तै शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्का सहित नटआउट रहँदै ५९ रन जोडे । नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे । दिल्लीका लागि कुलदीप यादवले ४ विकेट, मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिए।

हैदराबादले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ९९ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि जेल फ्रेजर-मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेपनि टोलीलाई पार लगाउन सकेनन् । त्यस्तै कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ रन, अभिषेक पोरेलले २२ बलमा ४२ रन, पृथ्वी शाले १६ र ट्रिस्टन स्टब्सले १० रन बनाए । हैदरावादको जितमा नटराजनले ४ विकेट, मयंक मार्कण्डे र नितिश रेड्डीले २-२ विकेट लिँदा वाशिंगटन सुन्दर र भुवनेश्वर कुमारले १-१ विकेट लिए ।

जित पछि हैदरावाद ७ खेलमा ५ जित सहित १० अंक बटुल्दै दोस्रो स्थानमा छ । दिल्ली ८ खेलमा ३ जित सहित ६ अंक बटुल्दै सातौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ ।

आईपिएलमा आइतबार २ खेल हुँदैछन् । दिनको ३:४५ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका ७:४५ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन् ।