काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिनुभएको हो । मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उहाँले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिनुभएको छ ।

उहाँले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) बमोजिम राजीनामा दिएको उल्लेख गर्नुभएको छ । जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सम्झौता भएको थियो ।

जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा मन्त्री अहिरले राजीनामा दिनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना विभागीय मन्त्री नियुक्त हुनुभएको थियो । वैशाख ६ गते उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।

मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिदाँ ४८ मत पाउनुभएको थियो । प्रदेशसभामा तीनजना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाएको छ ।