आइतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरुलाई कोलकाता नाइट राइडर्सले एक रनले पराजित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेनजर्स बेंगलूरुलाई एक रनले हराएको छ। कोलकाताले दिएको दुई सय २३ रनको लक्ष्य पछ्याएको बेंगलुरुले २० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २१ रन बनाउन सक्यो।


बेंगलुरुका लागि विल ज्याक्सले ४ चौका ५ छक्का प्रहार गरी सर्वाधिक ५५ रन बनाएका थिए । रजत पटीदारले ३ चौका ५ छक्का प्रहार गरी ५२ रन जोडे। कोलकाताका लागि आन्द्रे रसेलले तीन विकेट, सुनिल नरिने र हर्षित रानाले समान दुई-दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा छ विकेट गुमाउँदै दुई सय २२ रन बनाएको थियो। कोलकाताका लगि कप्तान श्रेयस ऐयरले ५० रन र फिल साल्टले ४८ रन जोडे। बेंगलुरुका लागि यश दयाल र क्यामरन ग्रीनले २–२ विकेट लिए।


कोलकाता ७ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ। बेंगलुरु आठ खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ।
आइतबार भएको दोस्रो खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्समाथि सहज जित

गुजरात टाइटन्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। गुजरात टाईटन्सले पञ्जाब किंग्सलाई तीन विकेटले हराएको हो। पञ्जाबले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले पाँच बल बाँकी छँदै सात विकेट गुमाएर भेट्टायो।

गुजरातका लागि राहुल टेवाटियाले १८ बलमा ७ चौका प्रहार गरी ३६ रन बनाएर नट आउट रहे। त्यसअघि ओपनर तथा कप्तान शुभमन गिलले २९ बलमा ५ चौका प्रहार गरी ३५ रन जोडे। साइ सुदर्शनले ३४ बल खेलेर ३ चौका प्रहार गरी ३१ रनको योगदान गरे। त्यस्तै ओपनर रिद्धिमन साहले १३ र अज्मतुल्लाह ओमरजइले १३ रन बनाए। पञ्जाबका लागी हर्षल पटेलले ३ तथा लियम लिभिङस्टोनले २ विकेट लिए भने साम करण र अर्शदीप सिंहले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा एक सय ४२ रन बनाएको थियो । पञ्जाबका ओपनर प्रबसिमरन सिंहले सर्वाधिक ३५ रन जोडे। अर्का ओपनर तथा कप्तान साम करणले २० रन बनाएका थिए। त्यस्तै हरप्रित ब्रारले २९, हरप्रित सिंहले १४,जितेश शर्माले १३ रन जोडेका थिए। बलिङतर्फ गुजरातका साइ किशोरले ४ विकेट लिएका थिए। मोहित शर्मा र नूर अहमदले २/२ विकेट तथा रसिद खानले १ विकेट लिए।

यो जितसँगै गुजरात आठ खेलमा आठ अङ्कसहित छैटौं र पन्जाब आठ खेलमा चार अङ्कसहित नवौं स्थानमा छ।
आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्स खेल्दैछन्। जयपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुने छ।
