रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । पुटिनको पाँचौँ पटक निर्वाचित भएपछिको यो पहिलो विदेश भ्रमण हुनेछ ।
पुटिन गएको मार्चमा पाँचौँ पटक राष्ट्रपतिमा चयन भएका थिए । उहाँले बिहीबार रुसी युनियन अफ इन्डस्ट्रियलिस्ट एन्ड इन्टरप्रेन्योर कङ्गे्रसको सम्बोधनमा आफ्नो मे महिनामा चीनको भ्रमण तय भएको बताएका हुन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ पुगेको केही समयपछि पुटिनको पनि चीन भ्रमण सम्बन्धमा यस्तो घोषणा आएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै महिनाको शुरुमा बेइजिङमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गर्नुभएको थियो । उक्त भेट लाभरोभ र सीबीच छ वर्षमा पहिलो पटक प्रत्यक्ष छलफल भएको थियो । लाभरोभ र सीबीच सन् २०१८ मा पुटिन पुनः निर्वाचित भएपछि चीनको उद्घाटन भ्रमणभन्दा ठिकअघि भेट भएको थियो ।
त्यसबेलादेखि चीन र रुसले विशेषगरी युक्रेनमा पुटिनको युद्धपछि आफ्नो आर्थिक, व्यापार र कूटनीतिक सहकार्यलाई तीव्र बनाएका छन् । रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ । चीनले यसमा आफ्नो तटस्थता दाबी गरे पनि रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा रहेको छ ।
दुई राष्ट्रले पश्चिमी नियन्त्रण प्रयासहरूको विरुद्ध कूटनीतिक गठबन्धन पनि गरेका छन् । अन्य देशहरूले रुसी आयातमा प्रतिबन्ध लगाएपछि बेइजिङले निरन्तर रुसी तेल आयात गरिरहेको छ ।
पुटिनको पछिल्लो बेइजिङ भ्रमण सन् २०२३ अक्टोबरमा बेल्ट एन्ड रोड फोरमको समयमा भएको थियो । त्यस्तै सीले सन् २०२३ मार्चमा मस्कोको भ्रमण गरिएको थियो ।
