काठमाडौँ । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् । उनले ११ हजार ६१२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । भण्डारीले सिंहलाई २६६ मत बढिले पराजित गर्न सफल भएका हुन्। निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाको पक्षमा ३८ सय ३१ मत झरेको छ । उता नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १४ मत ल्याए ।

शनिबार भएको उपनिर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुँदा भण्डारीले सुदूरपश्चिम प्रदेश सभाको टिकट पक्का गरेका हुन् । बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो ।

२०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते सवारी दुर्घटनामा निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो । उनको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले उनकै छोरा अभिषेकलाई टिकट दिएको थियो । तर प्रतिस्पर्धात्मक चुनावमा अभिषेकले बुवाको विरासत जोगाउन सकेनन् । बझाङमा सबै दल एक्ला एक्लै चुनावी मैदानमा थिए। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका र स्वतन्त्र उम्मेवार उठेका थिएनन् ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *