काठमाडौँ । यही वैशाख १२ गते महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलमा आगलागीबाट भएका पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन समितिले निर्णय गरेको छ ।
महानगरको विपद् व्यवस्थापन समितिले आगलागीबाट भएको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनः स्थापनाका लागि सहयोग गर्ने यस्तो निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
महानगरले मटिहानी नगरपालिकाको खातामा रकम जम्मा हुने गरी पठाउने तयारी भएको उहाँले बताउनु भएको छ ।आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए । यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सुँगुर जलेर नष्ट भएका थिए ।
