काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो। तर आज विश्वासको मत दिन एमाले तयार नभएपछि संसद सचिवालयले सूचना टाँस गर्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको जनाएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभा सदस्य सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनामा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिने तयारी गरेका थिए । एमालेले सरसल्लाह गर्न बाँकी रहेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताउँदै आएको थियो ।

कांग्रेसले  नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै सदन अवरुद्ध पार्ने चेतावनी दिँदै आएको थियो । केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री अगाडि सरेका समाजवादीका नेता सोडारीलाई अहिले भने आफै मुख्यमन्त्री बन्दा विश्वासको मत लिन सकस भएको हो।