काठमाडौँ । डडेलधुरामा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-४ सिरोडको भित्री सडकमा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाग्मती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धादिङको गजुरी गाउँपालिका-७ का ४० वर्षीय चालक धिरज थापामगर र रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो । प्रहरी निरीक्षक कुसुम नायकका अनुसार उनीहरूको उपचारका क्रममा डडेलधुरा अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा घाइते हुनेमा धादिङको रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक छन्। उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
