काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई सहजै हराएको छ । गुजरातले चेन्नईमाथि ३५ रनको सहज जित दर्ता गर्यो । दुई ओपनरको शतकमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको हो ।
नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ३ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । जितका लागि दुई सय ३२ रनको लक्ष्य पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ९६ रन मात्र बनाउन सक्यो ।
चेन्नईका ड्यारिल मिचेलले ३४ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ६३ रन बनाए । मोइन अलीले ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ५६ रनको योगदान गरे । त्यस्तै महेन्द्र सिंह धोनीले २६ रन, शिवम दुबेले २१ रन र रविन्द्र जडेजाले १८ रन जोडे । गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दिप वारियरले १-१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेका गुजरातका लागि कप्तान तथा ओपनर शुभमन गिलले ५५ बलमा ९ चौका र ६ छक्का सहित १ सय ४ रन बनाए । अर्का ओपनर सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्का सहित १ सय ३ रन जोडे । त्यस्तै डेविड मिलरले १६ रन जोडे । चेन्नईका तुसार देशाण्डेले २ विकेट लिए ।
जितपछि गुजरात १२ खेलमा १० अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । चेन्नई भने समान १२ खेलमा १२ अङ्कमा साथ चौँथो स्थानमा छ ।
आइपिएलमा शनिबार कोलकत्ता नाईट राइडर्स र मुम्बई इंडियन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरु हुनेछ ।
