काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बेलायत प्रस्थान गरेकी छिन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वर्ल्ड फेस्टिभलमा सहभागी हुन उपप्रमुख डंगोल बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
उपप्रमुखसँग भ्रमण टोलीमा वडा नम्बर २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि बेलायत गएकी छन् ।
महोत्सव बेलायतको म्यानचेस्टर शहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुने उनको सचिवालयले जनाएको छ । भ्रमणको अवधि १० दिनको हुनेछ । टोली जेठ २० गते नेपाल फर्कनेछ।
वार्षिक रूपमा मनाइने यो फेस्टिभलमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरूबीच अन्तर्क्रिया र अनुभव आदानप्रदान हुन्छ। लैंगिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना भएको बताइन्छ। यो कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रूपमा सहभागी भइसकेका छन् ।
