काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका विभिन्न दर्जाका प्रहरीहरूलाई एक हप्ताभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सम्पर्कमा आउन भनेको हो ।
आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ।

