काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जनाएको छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ । आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागमा अत्याधिक गर्मी हुने सम्भावना रहको हुदाँ सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
