काठमाडौँ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ। हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ।
दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्। ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दैछ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दैछ’, उनले भनेका छन्।
उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्। गुटेरसले ‘त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ’, भनेका छन्।
सन् १९७३ देखि विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिनका रूपमा मनाउन थालिएको हो। हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्या र तिनका समाधानमा कार्यक्रमहरु केन्द्रित हुने गरेका छन्।
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ।
