काठमाडौँ । मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो । मधेश प्रदेश सभाको हिजो दोस्रोपटक बसेको बैठकमा विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत मात्र प्राप्त गरेका थिए।

मुख्यमन्त्री यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका एक जनाको मत परेको छ ।

सरकार ढलेसँगै मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्। प्रदेश प्रमुख भण्डारीले नयाँ मुख्यमन्त्री बन्न दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न प्रेस विज्ञप्तिमार्फत आह्वान गरेकी छन्।

‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई जेठ २५ गते शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।