काठमाडौँ । आउँदो सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसद विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि विश्वासको मत लिने संसद् सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए । उनले जेठ २८ मा विश्वासको मत लिन संसद आह्वानका लागि सभामुखलाई पत्र पठाएका थिए ।

सर्वोच्च अदालतको परमादेशअनुसार जेठ १६ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले असार १५ सम्म विश्वासको मत लिइसक्नुपर्थ्यो । उनी संविधानको धारा १६८ (३) बमोजिम संसदको ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

नीति तथा कार्यक्रम र बजेट पारित हुन नसक्ने देखेपछि सरकारले अध्यादेशबाट ल्याउने तयारी गरेको प्रतिपक्षको आरोप थियो । प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले भने संसद ‘फेस’ गर्ने बताएका थिए ।

६० सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गर्न ३१ सांसद आवश्यक हुन्छ । जसमा कांग्रेसका २७ सांसद एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । राप्रपाले सरकारलाई समर्थन गर्नेबारे धारणा सार्वजनिक गरिसकेको छैन । 

यसअघि समीकरण बदलिएपछि अल्पमतमा परेका पाण्डेले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गर्दै आफूसँग बहुमत रहेको पत्र प्रदेशप्रमुख डिल्लीराज भट्टलाई बुझाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो ।