काठमाडौँ । आइसीसी टी–२० विश्वकपमा समूह बी अन्तर्गतको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई पराजित गरेको छ । लगातारको दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो ।

बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो । डेविड वार्नरले १६ बलमा २ चौका ४ छक्कासहित सर्वाधिक३९ रन बनाए । त्यस्तै अर्का ओपनरद्वय ट्राभिस हेडले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३४ रन जोडे । उनीहरुले पाँच ओभरमा ७० रन जोडेको अवस्थामा वार्नर आउट भएपछि साझेदारी तोडिएको थियो । कप्तान मिचेल मार्सले ३५, ग्लेन म्याक्सवेल २८ र मार्कस स्टोइनिसले ३० रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए भने मोइन अली, जोफ्रा आर्चर, आदिल रसिद र लियाम लिभिङ स्टोनले समान एक-एक विकेट हात पारे।

२ सय २ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो । आठौं ओभरमा फिल साल्ट ३७ रन जोडेर आउट हुँदा इंग्ल्यान्डले ७३ रन बनाइसकेको थियो । उनले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कप्तान बटलरले २८ बलमा ४२ रनको योगदान दिएका थिए । त्यस्तै विल ज्याक्स १० र जोनी बेयरस्टो ७ रनमा आउट भए । मोइन अलीले २५, ह्यारी ब्रुकले २० र लियाम लिभिंगस्टोनले १५ रन मात्र जोडे । अस्ट्रेलियाका लागि प्याट कमिन्स र एडम जाम्पाले समान दुइ-दुइ विकेट लिए भने जोस हेजलवुड र मार्कस स्टोइनिसले समान एक-एक विकेट हात पारे ।

अष्ट्रेलिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । स्कटल्यान्डको २ खेलमा ३ अंक तथा नामिबायाको २ खेलमा २ अंक छ । इंग्ल्यान्डको १ अंक र ओमान अंकविहिन छ ।