काठमाडौँ । लुम्बिनी विकास कोषका इञ्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी ६ वर्षको कैद सजाय सुनाएको छ । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मु्द्दामा गत जेठ २४ गते दोषी ठहर भएका भट्टराईको सजाय र जरिवाना विशेष अदालतले बिहीबार निर्धारण गरेको हो ।

घुस बापतको पैसा जग्गा बेच्नेलाई बुझाउन लगाएर आमाको नाममा जग्गा किनेका भट्टराईलाई सजाय सुनाएको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार भट्टराई ठेकेदारसँग लिएको ८० लाख रुपैयाँ घुस प्रकरणमा ६ वर्ष जेल सजाय सुनाएको हो । विशेषले उनीबाट ८० लाख बिगो असुल्नुपर्ने फैसला गर्दै त्यति नै रकम जरिवाना गर्नुपर्ने ठहर गरेको छ ।

ठेकेदारबाट कमिशन लिएर आएको गैरकानुनी आम्दानीले भट्टराईले सम्पत्ति जोडेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २५ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । घुसबापतको रकम ठेकेदारबाट तिराएर जग्गा लिएको पुष्टि भएको भन्दै अख्तियारले इञ्जिनियर सरोज र उनकी आमा विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले आमालाई समेत मतियारको रूपमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले बिगो जफत हुने भन्दै इञ्जिनियर सरोज भट्टराईलाई मात्रै कैद सजाय तोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *