काठमाडाैँ । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसदबाट पदमुक्त हुनुभएको छ । प्रदेश सभाको आज बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराएका हुन् ।
२०७९ को निर्वाचनमा गोरखाबाट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का नेता देवकोटा गोरखा २ (क) प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका हुन् ।
माओवादी संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै ‘फ्लोर क्रस’ गरेर यही जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले पार्टीद्वारा जारी ह्वीप उल्लङ्घन र दलको विधानविपरीत गरेका २४ घण्टे स्पष्टीकरण सोधेको बताएका छन् । बुढाका अनुसार मन्त्री भइसकेका देवकोटालाई बुधबार साँझ ७ बजेसम्म लिखित जवाफ दिन निर्देशनसहित स्पष्टीकरण सोधिएको हो ।
माओवादीले ह्विप उल्लङ्घनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएपछि उहाँको सांसदसँगै मन्त्री पद पनि गएको छ । देवकोटा सर्वोच्च अदालत जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।
