सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आज प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट वक्तव्य मार्फत सार्वजनिक गरेका हुन् ।
शनिबार दिउँसो ४ बजेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभामा उनले आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन भएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री पालले बताएका छन् ।
स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम नौ अर्ब ९९ करोड, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रुपैयाँ, चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम छ अर्ब १५ करोड ८३ लाख र सशर्त अनुदानबाट प्राप्त हुने तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ ।
मन्त्री पालले आगामी आर्थिक वर्षदेखि प्रदेशको आम्दानी बढाउनका लागि करका दरसमेत हेरफेर गरेका छन् । प्रदेशका निजी व्यवसायीलाई औपचारिक अर्थतन्त्रमा ल्याउने गरी व्यवसाय नवीकरण वा दर्ताको व्यवस्था गरिएको मन्त्री पालको भनाई छ ।
