कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभा बैठकमा आज (शनिबार) प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा आगामी बजेट बजेट सार्वजनिक गरेका हुन्।
मन्त्री मगरले चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरेका छन् । चालू खर्चमध्ये संघीय अनुदान फिर्तातर्फ ३ अर्ब रुपैयाँ विनियोजन अनुमान गरिएको छ।
आगामी बजेटमा अनुमान गरिएको खर्चको स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्व ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने उल्लेख गरिएको छ । बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख रुपैयाँ व्यवस्था गरिने उल्लेख छ ।
प्रदेशको बजेट आकार चालू आर्थिक वर्षमा भन्दा झण्डै एक अर्ब रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षका लागि प्रदेशले सरकारले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। अघिल्लो वर्ष पनि नेकपा एमालेकै नेतृत्व सरकारले बजेट सार्वजनिक गरेको थियो।
