बाग्मती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बाग्मती प्रदेशले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा एक अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको हो ।
शनिबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका हुन्। चालु आवका लागि ६२ अर्ब ७० करोड ९० लाखको बजेट विनियोजन गरिएको थियो।
२६ अर्ब १० करोड १६ लाख ८२ हजार चालू र ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार पूँजीगत बजेट छुट्याएको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
आगामी आवको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट छ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख, चालू आव २०८०/८१ को अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार बेहोरिने अनुमान बजेटमा गरिएको छ।
सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए । प्रदेशभित्र जग्गा भाडामा लिएर केराखेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने, उच्च प्रविधियुक्त च्याउ उत्पादनमा सहयोग गर्ने, पशुस्रोत केन्द्र विकासका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री थपलियाले सभालाई जानकारी गराए।
