काठमाडौँ । आज देशका विभिन्न स्थानमा मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदै छ । रमजान अर्थात् इदुल फित्र पर्वको ७०औँ दिनमा बकर इद (इदुल जोहा) मनाउने धार्मिक विधि छ। बकर इद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । नमाज पढिसके पश्चात एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमान धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ । वितरण गर्दा एक भाग गरिब एवं विपन्न परिवारलाई एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र बाँकी अर्को एक भाग आफूले खाने धार्मिक मान्यता रहेको छ ।

मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने र यी तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जनाएका छन् । यस अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।