काठमाडौँ । संघीय संसद् अन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्।

कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह,  प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ।

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय; वन तथा वातावरण मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; सहरी विकास मन्त्रालय; रक्षा मन्त्रालय; खानेपानी मन्त्रालय; र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताएका छन् ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।