काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट १ हजार ८ सय प्रतिनिधि छनोट गरेको छ। काठमाडौँमा असार १६ देखि २० गतेसम्म आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिएका छन् ।

उनका अनुसार महाधिवेशनका लागि १ हजार ८ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकोमा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।

अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएका र केही स्थानमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको पन्तले बताए । साथै महाधिवेशनमा आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुने उनको भनाइ थियो ।

यसअघि केन्द्रीय नेता पनि चुनिएर आउनुपर्ने निर्णय गरिएकोमा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो। छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ ।