अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सेन्ट लुसियामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको विष्फोटक इनिङ्को मद्दतमा ५ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो। रोहितले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक ९२ रन बनाए। यस्तै सुर्यकुमार यादवले ३१ रन, शिभम दुबेले २८ रन, हार्दिक पान्ड्याले २७ रन तथा ऋषभ पन्तले १५ रन जोडे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिसले २-२ तथा जोश हेजलवुडले १ विकेट लिएका थिए ।

जवाफमा अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित ७६ रन बनाएपनि जित दिलाउन सकेनन् । यस्तै मिचेल मार्शले ३७ रन , ग्लेन म्याक्सवेलले २० रन तथा टिम डेविडले १५ रन बनाएका थिए । भारतका लागी अर्शदिप सिंहले ३, कुलदीप यादवले २ तथा जस्पृत बुम्राह र अक्षर पटेलले एक-एक विकेट लिए ।

यता अष्ट्रेलिया सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह १ मा भारत ३ खेलमा ६ अंक सहित अन्तिम चारमा पुगेको हो । अष्ट्रेलियाको ३ खेलमा २ अंक, अफगानिस्तानको २ खेलमा २ अंक र बंगलादेश अंकविहिन रहका छन् । अफगानिस्तानले बंगलादेशमाथि जित हासिल गरे समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तानले हार बेहोरेमा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक रहनेछ भने नेट रनरेटका आधारमा समूहमा दोस्रो हुने टोलीको निर्धारण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *