मंगलबारबाट परेको अविरल वर्षाले गएको पहिरोमा परी कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन्।
कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोका कारण हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरेतापनि १३ वर्षीया आयुश्मा रानाभाट (नातिनी) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए। घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो।
त्यस्तै पहिरोमा परी पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ। उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। ‘अवस्था सिरियस रहेको छ। अन्य २ जना (हरी सुनार र छोरी वर्ष ९ की अंजली सुनार), सकुसल उद्दार गरिएको’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘घरमा पूर्ण रूपमा क्षति भएको छ।’ पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ।
