काठमाडौँ । भारत आईसीसी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। गयानामा गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत १० वर्षपछि फाइनलमा प्रवेश गरेको हो।
भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर चार बलमा एक सय ३ रनमा समेटियो। इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात गरे पनि अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन्। भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए। जसप्रित बुम्राहले २ विकेट झारे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । उसका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५७ रन बनाए । यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे । हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए ।
भारतले फाइनलमा दक्षिण अफ्रिकासँग पर्सि आइतवार प्रतिस्पर्धा गर्नेछ । हिजै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो भने सन् २००७ को पहिलो संस्करण जितेको भारत तेस्रो पटक फाइनल पुगेको हो ।
