संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० विश्वकप खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले उपाधि जितेको छ। भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो। 

भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी २० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो। भारत दुई पटक टी-२० विश्वकपकाे उपाधि जित्ने मात्र तेस्रो टोली बनेको छ। यसअघि वेस्ट इन्डिज र इंग्ल्यान्डले यो उपलब्धि हासिल गरेका थिए ।

भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए । त्यस्तै, क्वीनटन डी ककले ३१ बलमा ४ चौका र १ छक्कासहित ३९ रन जोडे । ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिए । डेभिड मिलरले १७ बलमा २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । भारतका लागि हार्दिक पाण्ड्याले तिन विकेट लिए । अर्शदीप सिंह र जसप्रित बुमराहले दुइ-दुइ विकेट लिए भने अक्षर पटेलले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो।भारतका लागि फर्ममा फर्किएका विराट कोहलीले ५९ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७६ रन बनाए। कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए । लगतै ऋषभ पन्त शून्य रन बनाएर आउट भए । सूर्यकुमार यादव पनि ३ रन जोडेर कागिसो राबाडाको शिकार बनेपछि भारत दबाबमा देखिएको थियो तर दबाबलाइ कोहली र अक्षर पटेल मिलेर ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत खेलमा फर्कियो । रन आउट हुन अघि पटेलले ३१ बलमा १ चौका र ४ छक्का सहित ४७ रन बनाए । शिवम दुवेले पनि २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *