घरेलु भुमिमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन खेलाडी सम्मिलित टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
खेल आगामी साउन ६ र ७ गते (जुलाई २१ र २२) त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने नेपाल भलिबल संघले जनाएको छ ।
नेपाल भलिबल संघका अनुसार नेपालस्थित रसियन दूतावासको सहयोगमा रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १० महिनापछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न लागेको हो । नेपाली टोलीले गत वर्ष २३ सेप्टेम्वर देखि ८ अक्टोवर २०२३ मा चीनमा भएको एसियन गेम्समा सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।
महिला टोलीको बन्द प्रशिक्षणमा १९ जना रहेपनि मिना सुनार र अनुषा चौधरीले माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल लिग खेल्ने निर्णग गर्दै यु–२० टोलीमा सामेल भएका छन् ।
