प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आज हरेक नेपालीका घरमा शुरू हुँदैछ। एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिन्छ।

ज्येष्ठ शुक्ल एकादशीमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। 

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वासका आधारमा यस दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चर्तुमासा पनि भनिन्छ। 

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ। वर्षका २४ एकादशीमध्ये असार शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रीहरुले बताएका छन् ।

हरिशयनी एकादशीका अवसरमा बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। सक्नेले सबै एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गरेर मात्र गर्ने गरिन्छ।

नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।

वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन उत्सर्जन गर्ने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले विभिन्न प्रकारका औषधि निर्माणका लागि समेत उपयोग गरिन्छ ।