बाग्मती र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न बाग्मती र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई भोलि बेलुका ५ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिएका छन् भने लुम्बिनीका प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई आज साँझ ६:३० बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन्। कांग्रेस-एमाले सत्ता गठबन्धन भएपछि बाग्मती र लुम्बिनी प्रदेशमा सरकार ढलेको हाे।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुझाएको राजीनामा प्रदेश प्रमुख शर्माले हिजो दिउँसो स्वीकृत गर्नुभएको थियो। मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको पहल थालिएको हो। नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले दाबी पेश गर्ने तयारी गरेका छन्। कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार बाग्मती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ। कांग्रेसबाट बाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने गरी कांग्रेस र एमालेले दाबी पेश गर्ने तयारी गरेका छन्।

यता लुम्बिनीमा महराले आइतबार लुम्बिनी प्रदेशसभालाई सम्बाेधन गर्दै राजीनामा दिए पश्चात नयाँ सरकार गठनको पहल थालिएको हो। लुम्बिनीमा स्थापनाकालदेखि नै सरकारमा रहेको माओवादी पहिलो पटक प्रतिपक्षमा रहने भएको छ। लुम्बिनीमा अब नयाँ मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरीले दाबी गर्ने तयारी गरिरहेका छन्।