क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् । उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।गौशालाले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ । हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।

लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ । सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।’

गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो । तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको छ । गौशाला २६ ले चाहेमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न सक्छिन् ।
फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ । गौशालाले आफ्नो निवेदनमा फैसलाको पूर्णपाठ आफूले अध्ययन गरिसकेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *