नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ।

काठमाडौंको टोखा र कैलालीको धनगढीमा पनि हैजा संक्रमित भेटिएका छन्। खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाइमा प्रायः सबै सजग रहे पनि बर्खायाममा पानीको स्रोतमा फोहोर मिसिने हुनाले हैजाको संक्रमण देखिने गरेको छ ।

‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित चौलानी पानीजस्तो पातलो दिसा आउने, वाकवाकी लाग्ने, बान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन्।

हैजा संक्रमितको दिसाले पानीको स्रोत प्रदूषित गरेको खण्डमा महामारीको रूप लिन सक्छ। मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले बुधबार विज्ञप्ति जारी गरेर हैजा अति संक्रामक तथा शीघ्र फैलने भएकाले सजग रहन सबैलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *