नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ। निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। घटेको मूल्य शनिबार राती १२ बजेदेखि लागि हुने निगमले जनाएको छ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य यथावत् रहेको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १ सय ६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १ सय ६२ रुपैयाँ र नेपालगञ्ज, धनगढी, वीरगञ्ज, विराटनगर लगायत भारतीय सीमा क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा पर्नेछ।

यस्तै डिजल र मट्टीतेलको मूल्य काठमाडौँ र दिपायल क्षेत्रमा लिटरको १ सय ५४ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङ क्षेत्रमा १ सय ५३ रुपैयाँ र धनगढी, वीरगञ्ज, विराटनगरलगायत भारतीय सीमा क्षेत्रमा एक सय ५१ रुपैयाँ ५० पैसा पर्नेछ।