नेपाली साहित्यका विशिष्ट व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। वि.सं. १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याउनु भएको छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनु भएको थियो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ।
यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो । भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नुभएको योगदान अतुलनीय छ ।
