हिन्दू महिलाहरुले मनाउने महत्वपूर्ण पर्व तीजको आज माइतीले चेलीबेटीलाई बोलाई विभिन्न परिकार बनाएर दर खाएर मनाइँदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ ।
भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन बेलुकी दर खाने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ।
परापूर्वकालमा देवी पार्वतीले भगवना शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायू र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।
माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा विशेषगरी दूधबाट बनेका खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ ।कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् ।
भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने गर्छन् । दरखाने समय भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अरु चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
यसैबीच , स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी, फलफूल, धेरै चिल्लो पीरो, गुलियो र मसलेदार परिकार नखान आग्रह गरेका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।
