आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीका दिन नेपाली नारीहरु अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन्। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो।
आजका दिन महिलाहरु बिहान सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक ३६५ वटा अपामार्ग (दतिवन)ले दाँत माझ्ने, गाईको गोबर, माटो, कुश, तिल, र खरानी प्रयोग गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्दछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।
यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। हरितालिका (तीज)को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ।
सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ।
पूजा सकी महिला कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ। यो दिन विशेषगरी काठमाडौंको टेकुस्थित ऋषेश्वर, भक्तपुरको दत्तात्रेयलगायत मन्दिरमा घुइँचो लाग्छ।
